काठमाडौं । पूर्वाधार विकास समितिका सचिव उदयकुमार भण्डारीले देशमा पानीको अभावभन्दा व्यवस्थापनको कमजोरीका कारण नागरिकले खानेपानीको समस्या भोग्नुपरेको बताएका छन् ।
आज बसेको समितिको बैठकमा बोल्दै सचिव भण्डारीले खानेपानी आयोजनाहरू वर्षौंसम्म अधुरै रहने गरेका कारण जनताले समयमै सेवा नपाएको बताए । उनले आफ्नै गाउँको उदाहरण प्रस्तुत गर्दै पाँचवटै वडामा खानेपानी आयोजना सञ्चालनमा रहेपनि अधिकांश योजना अधुरै रहेको बताए । उनले १० वर्षअघि खानेपानी योजना आउने आशामा स्थानीय जनता उत्साहित भए पनि दशक बितिसक्दा पनि खानेपानी नपाएको बताए ।
उनले भने, ‘हाम्रो देशमा पानीको कमी छैन व्यवस्थाको कमी छ । आफ्ना गाउँमा पाँचवटा वडा छ पाचैँवटा वडामा खानेपानी आयोजना छ । त्यहाँ पनि अधुरो योजनाहरू छन् । सबै कामहरू अधुरै छन् । १० वर्ष पहिला नै जनतालाई एउटा अस्वासन दियो कि खानेपानीको योजना ल्याउदै छौं भनेर १० वर्ष पहिला नै खुसी भएका जनताले १० वर्ष पछि सम्म पनि खानेपानी पाएका छैनन् ।’
भण्डारीले कुनै पनि खानेपानी आयोजना डिप बोरिङ जस्ता योजनाको बजेट चरण–चरणमा विनियोजन नगरी एकमुष्ट उपलब्ध गराउन सरकारसँग आग्रह गरे समेत गरे । उनले भने, ‘त्यसैले मेरो अनुरोध छ कि कुनै पनि खाने पानि योजना डिप बोरिङ योजना यदि लागु हुन्छ भने त्यसको बजेट एकै चोटि होस् । पटक पटक गरेर नहोस् । तराईमा अहिले खानेपानीको जुन हाकार भइरहेको छ । त्यहाँ यो महिना देखि सूखा ग्रस्त घोषणा हुन्छ ।’
सचिव भण्डारीले डिप बोरिङ मात्र खानेपानी समस्याको स्थायी समाधान नभएको बताए । जलवायु परिवर्तनका कारण तराई मात्र होइन, पहाडी तथा हिमाली क्षेत्रमा समेत पानीका स्रोत सुक्दै गएको उनले बताए ।






































