जनकपुरधाम— चार महिनाअघि कार्यालयभित्रै सेवाग्राहीमाथि भएको कुटपिटको भिडियो अचानक सामाजिक सञ्जालमा भाइरल भएपछि बारा यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख चिन्तन आचार्य पक्राउ परेका छन्। लामो समयसम्म सार्वजनिक नभएको उक्त घटनाको भिडियो बाहिरिएसँगै जिल्ला प्रहरी कार्यालय बाराले आचार्यलाई पक्राउ गरी घटनाबारे अनुसन्धान सुरु गरेको हो। प्रहरीले सार्वजनिक भएको भिडियो सन् २०२६ मार्च १७ (गत फागुन तेस्रो साता) को भएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुवँरका अनुसार भिडियो सार्वजनिक भएपछि घटनाको वास्तविकता बुझ्न आचार्यलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार कार्यालय प्रमुखको कार्यकक्ष बाहिर एक सेवाग्राहीसँग विवाद चर्किँदा दुवै पक्षबीच हातपात भएको थियो। प्रारम्भिक जानकारीअनुसार त्यतिबेलै विवाद मिलाइएको भए पनि भिडियो सार्वजनिक भएपछि घटनाले नयाँ मोड लिएको छ।
उता, आचार्यले भने हातपात हुनुअघि सेवाग्राही अरुण कुशवाहाले आफू पत्रकार भएको परिचय दिँदै श्रीमती र सालीको चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी कामका लागि कार्यालय आएको र कर्मचारीमाथि धाकधम्की तथा गालीगलौज गरेपछि विवाद बढेको दाबी गरेका छन्। यता कार्यालय प्रमुखसहित कर्मचारीहरूले सेवाग्राहीमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समेत घटनाप्रति चासो देखाएको छ भने प्रहरीले घटनाको सम्पूर्ण पक्षमाथि अनुसन्धान अघि बढाएको जनाएको छ।






































