बैतडी— जिल्लाको मेलौली नगरपालिका–१ सिराडमा कच्ची घर भत्किँदा आठ महिनाकी गर्भवतीसहित तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भुवनप्रसाद तिमिल्सिनाका अनुसार सुने पार्कीको ढुङ्गा–माटोले बनेको दुई तले कच्ची घरको मुख्य निधाल भाँचिएपछि घर भत्किएको हो।

घटनामा पार्कीकी १८ वर्षीया छोरी मनीषा पार्की, १३ वर्षीया चाँदनी पार्की र आठ महिनाकी गर्भवती २२ वर्षीया बुहारी प्रिया पार्की घाइते भएका छन्। घाइतेमध्ये प्रियाको अवस्था केही गम्भीर रहेको प्रहरीले जनाएको छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तश्चदेहीबाट प्रहरी सहायक हवल्दार घनश्याम जैसीको नेतृत्वमा छ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, मेलौली पठाइएको प्रहरीले जनाएको छ।