काठमाडौं— गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरूलाई कार्यालय समयमा अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन्।

विमानस्थलको आकस्मिक निरीक्षणका क्रममा उनले नेपाली संस्कृति, राष्ट्रिय पहिचान र मौलिकतालाई झल्काउने गरी कर्मचारीको पहिरनमा एकरूपता ल्याउन यस्तो निर्णय गरेका हुन्।

गृहमन्त्री गुरुङले विदेशी नागरिक नेपाल प्रवेश गर्दा पहिलो पटक अध्यागमन कार्यालयसँगै सम्पर्कमा आउने भएकाले त्यहाँको वातावरण, कर्मचारीको व्यवहार र पहिरनले देशको छवि निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार पहिलो भेटमै विदेशी पाहुनाले नेपालीपनको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले ढाका टोपी अनिवार्य गरिएको हो।

उनले कर्मचारीहरूलाई छिटो, सहज, अनुशासित र सेवामुखी ढंगले काम गर्न पनि निर्देशन दिएका छन्।

यो निर्णय सरकारले लागू गरेको ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी कार्यविधि–२०८१’ को भावना अनुरूप रहेको गृह मन्त्रालयले जनाएको छ।

सरकारको यो कदमले नेपाली संस्कृति र राष्ट्रिय पहिचानलाई थप प्रवर्द्धन गर्नुका साथै स्वदेशी ढाका उद्योगलाई पनि प्रोत्साहन पुग्ने विश्वास गरिएको छ। गृहमन्त्रीको यस निर्णयलाई सामाजिक सञ्जालमा समेत सकारात्मक प्रतिक्रिया र स्वागत मिलिरहेको छ।