विर्तामोड — नेपाली कांग्रेसका सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीले निर्धारित समयमै महाधिवेशन सम्पन्न गरी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी अघि बढाउने बताएका छन्।
नेपाली कांग्रेस झापाले आयोजना गरेको पदाधिकारी, क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय समिति, गाउँ–नगर सभापति, नेविसंघ, तरुण दल र महिला संघका प्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई समयअनुकूल र प्रविधिमैत्री बनाउने अभियान तीव्र पारिएको बताए।
वर्तमान समय डिजिटल युगको भएको उल्लेख गर्दै संग्रौलाले सामाजिक सञ्जालमा हुने ‘स्टन्टबाजी’ले मुलुकको राजनीतिलाई प्रभावित बनाएको टिप्पणी गरे। त्यसैले कांग्रेसले पनि डिजिटल माध्यमबाट क्रियाशील सदस्यता अध्यावधिकको अभियान अघि बढाएको उनको भनाइ थियो।
उनले पार्टीले क्रियाशील सदस्यता वितरणदेखि वडा समितिदेखि केन्द्रीय समितिसम्म ३५ वर्षमुनिका युवा र महिलालाई प्राथमिकतामा राख्ने नीति अवलम्बन गरेको जानकारी दिँदै पार्टीभित्र उनीहरूका लागि थप अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बसन्त भट्टराईले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिबाहेक अन्य पदाधिकारी र सदस्यलाई केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने इतर समूहको माग विधानअनुसार सम्भव नभएको बताए। झापामा क्रियाशील सदस्यता अध्यावधिक प्रभावकारी रूपमा सम्पन्न भएको उल्लेख गर्दै उनले पार्टीको डिजिटल रूपान्तरण सफल बनाउन सबै नेता–कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे।
अर्का केन्द्रीय सदस्य राजीव ढुंगानाले संगठनको आधार क्रियाशील सदस्य रहेको भन्दै क्षेत्रीय वा महाधिवेशन प्रतिनिधि बन्ने स्वार्थमा सदस्यता वितरण नगर्न आग्रह गरे।
फरक प्रसङ्गमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति जनविश्वास घट्दै गएको दाबी गर्दै सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठाएको टिप्पणी गरे। सुशासन र सुकुम्बासीका मुद्दामा भएका गतिविधिले पनि रास्वपाको नियतमाथि प्रश्न उठ्न थालेको उनको भनाइ थियो।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्लामा २२ हजार १७७ जनाको क्रियाशील सदस्यता अध्यावधिक भएको जानकारी दिँदै यस अभियानमा खटिएका वडा समितिसहित सबैलाई धन्यवाद दिए।
कार्यक्रममा कोशी प्रदेश समिति सदस्य उत्तम चम्लागाई, महासमिति सदस्य दिपेन्द्र ढकाल, झापा उपसभापति केशवराज पाण्डे, क्षेत्रीय सभापतिहरू तथा अन्य नेताहरूले क्रियाशील सदस्यता अध्यावधिकका क्रममा देखिएका प्राविधिक समस्याबारे जिज्ञासा राखेका थिए। कार्यक्रमको सहजीकरण जिल्ला सचिव नवीन विमलीले गरेका थिए।
भेलामा कांग्रेसका केन्द्रीय सदस्यहरू, तरुण दल, लोकतान्त्रिक थारु संघ तथा पार्टीका विभिन्न तहका नेता–कार्यकर्ता र भ्रातृ संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए।




































