विराटनगर— कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्ध सञ्चालन गरेको महाअभियानअन्तर्गत विभिन्न जिल्लाबाट ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ९ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर, ७९० वटा लागूऔषध ट्याब्लेट, ८६ हजार रुपैयाँ नगद तथा दुईवटा सवारीसाधन बरामद गरिएको प्रहरीले जनाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो विराटनगर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनसरी, धनकुटा र उदयपुरका विभिन्न स्थानमा कारबाही गरेको हो।

प्रहरीका अनुसार सुनसरीको धरान–११ घर भई हाल इटहरी–४ मा बस्दै आएका दिनेश भट्टराईलाई उनकै डेराबाट ४ ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ। त्यस्तै, अस्थायी प्रहरी पोस्ट जोरसखुवाले धरान–७ का रितेश भुजेललाई ३ ग्राम ४० मिलिग्राम ब्राउन सुगर र ४७ हजार रुपैयाँ नगदसहित तथा धरान–३ का शंकर गिरीलाई २ ग्राम ८० मिलिग्राम ब्राउन सुगर र ६ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको छ।

यस्तै, धनकुटाको हिलेमा चेकजाँचका क्रममा प्रहरी चौकी हिलेले संखुवासभाको धर्मदेवी नगरपालिका–१ का अनिल घिसिङलाई २५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

उदयपुरमा प्रहरी चौकी लालपत्ताले प्र–१–०५–००१ प ५९७१ नम्बरको स्कुटरमा सवार त्रियुगा नगरपालिका–१० का दिलिप खड्कालाई प्रतिबन्धित औषधि ओपिडोल र स्पास्मो गरी ४९० वटा ट्याब्लेटसहित पक्राउ गरेको छ।

त्यसैगरी इलाका प्रहरी कार्यालय कटारीले प्र–२–०१–००१ प ५४७७ नम्बरको मोटरसाइकलमा सवार कटारी–४ का श्याम सहनी र रबिन खड्कालाई ३०० वटा तापेन्टाडोल ट्याब्लेट तथा ३३ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ।