एजेन्सी— अमेरिकी सेनामा कार्यरत ताप्लेजुङका २४ वर्षीय सुनील थापाको गोली लागेर मृत्यु भएको छ। प्रारम्भिक जानकारीअनुसार दुई दिनअघि तालिमका क्रममा साथी सैनिकको बन्दुकबाट चलेको गोली उनको टाउकोमा लागेपछि घटनास्थलमै उनको ज्यान गएको बताइएको छ। यद्यपि घटनाको वास्तविक कारणबारे अमेरिकी निकायबाट औपचारिक पुष्टि हुन बाँकी रहेको परिवारले जनाएको छ।

सुनील अमेरिका निवासी समाजसेवी दम्पती हेम थापा र माया थापाका कान्छा छोरा हुन्। उनी केही समयअघि मात्रै अमेरिकी सेनामा पदोन्नति भएका थिए। पदोन्नतिपछि सञ्चालन गरिएको विशेष तालिमका क्रममा दुर्घटनावश गोली चलेको हुन सक्ने अनुमान परिवारले गरेको छ।

छोराको असामयिक निधनपछि पिता हेम थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत गहिरो शोक व्यक्त गरेका छन्। उनले आफ्नो जीवनकै सबैभन्दा पीडादायी क्षण आएको उल्लेख गर्दै भगवान्प्रति समेत दुःख र आक्रोश व्यक्त गरेका छन्।

थापा परिवारका दुई छोरा र एक छोरीमध्ये जेठा छोरा र छोरी चिकित्सकका रूपमा कार्यरत छन् भने कान्छा छोरा सुनील अमेरिकी सेनामा सेवा गरिरहेका थिए। उनको निधनले परिवार मात्र होइन, चिनजानका आफन्त र शुभेच्छुकहरूलाई समेत स्तब्ध बनाएको छ।