धनगढी— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हेल्मेट नलगाई मोटरसाइकल चलाएको घटनामा ट्राफिक प्रहरीले कारबाही गरेको छ। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि ट्राफिक प्रहरी मुख्यमन्त्री निवास पुगेर पाँच सय रुपैयाँको जरिवाना गरेको हो।

मुख्यमन्त्री शाहले निवास परिसरभित्र हेल्मेटबिनै बुलेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि त्यसको व्यापक चर्चा भएको थियो। सोही आधारमा ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया पूरा गर्दै जरिवाना असुल गरेको जनाएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले आफूबाट ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै कानुनअनुसार कारबाही भोगेको बताए। उनले सबै नागरिक कानुनको नजरमा समान हुनुपर्ने मान्यताअनुसार आफैंले ट्राफिक प्रहरीलाई आवश्यक कारबाही गर्न आग्रह गरेको दाबी गरे।

मुख्यमन्त्री शाहका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटक खातामार्फत हेल्मेटबिनै बाइक चलाएको भिडियो सार्वजनिक गरेका थिए। भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मुख्यमन्त्रीको आचरणबारे व्यापक बहस भएको थियो।