काठमाडौं— प्रहरीले बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पर्वत र कञ्चनपुरबाट एक–एक जनालाई पक्राउ गरेको छ भने घटनामा संलग्न भनिएका अन्य दुई जनाको खोजी भइरहेको जनाएको छ।
पर्वतको जलजला गाउँपालिका–ठोट्नेरीका ५३ वर्षीय गोरबहादुर विकलाई १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडित पक्षको उजुरीपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीका १९ वर्षीय रमेश ढाँट (राम ढाँट) लाई १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ। प्रहरीका अनुसार उक्त घटनामा पुनर्वासकै २३ वर्षीय दीपक खत्री र २३ वर्षीय गणेश बयाडी (भुरू बयाडी) समेत संलग्न रहेको आरोप छ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले रमेशलाई पुनर्वास नगरपालिका–११ डोके बजारबाट पक्राउ गरेको हो। फरार रहेका दीपक र गणेशको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।






































