काठमाडौं— स्थानीय तहमा देखिएका प्रशासनिक तथा प्राविधिक समस्याको समाधान र सङ्घ, प्रदेश तथा स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच छलफल भएको छ।

सिंहदरबारमा भएको भेटवार्तामा स्थानीय तहका कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य प्रशासनिक चुनौतीबारे विस्तृत रूपमा विचार–विमर्श गरिएको मन्त्रीको सचिवालयले जनाएको छ।

मुख्यमन्त्री यादवले स्थानीय तहमा देखिएका समस्याबारे प्रदेश सरकार जानकार रहेको उल्लेख गर्दै तिनको समाधानका लागि आवश्यक सबै पहल गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

मन्त्री रावलले स्थानीय तहको बजेट तर्जुमा प्रक्रिया थप व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले विशेष पहल गरिरहेको जानकारी दिइन्। उनका अनुसार मन्त्रालयका तीन सहसचिवको नेतृत्वमा परिचालित टोलीले विभिन्न स्थानीय तहमा पुगेर प्रमुख, उपप्रमुख तथा सम्बन्धित पदाधिकारीसँग प्रत्यक्ष छलफल गरी स्थानीय तहका आवश्यकता, समस्या र चुनौतीबारे स्थलगत जानकारी सङ्कलन गरिसकेको छ।

उनले स्थानीय तहका प्रशासनिक तथा प्राविधिक समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै स्थानीय सरकारलाई थप सक्षम, व्यवस्थित र नागरिकमैत्री बनाउन मन्त्रालयले आवश्यक पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

उक्त छलफलमा मन्त्रालयका सचिव, सहसचिव तथा प्रतिनिधिसभा सदस्य रहबर अन्सारीलगायतको उपस्थिति रहेको थियो।