काठमाडौं / सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिकीकरण नगरी प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताएका छन् ।
हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकारले हुलाकमार्फत सबै प्रकारका कागजात तथा पार्सल समयमै गन्तव्यमा पुर्याउने प्रतिबद्धता जनाए। उनले हुलाक सेवा विभाग तथा यस क्षेत्रमा सेवा प्रदान गरिरहेका निजी सेवा प्रदायकसँग सहकार्य गर्दै देखिएका समस्याको समाधानका लागि सरकार अघि बढेको जानकारी दिए । उनले भने, ‘स्वेच्छिक हिसाबले चाहेको बेला हामी हुलाकबाट हरेक किसिमका कागजात र पार्सल समयमै पुर्याउन सरकार प्रतिबद्ध छ ।
त्यसका लागि हुलाक सेवा विभाग र यससम्बन्धी सेवा दिने निजी सेवा प्रदायकसँग पनि सहकार्य गरेर के–के समस्या परेका छन्, ती सुनेर समाधानका लागि हामी अगाडि आएका छौँ । अब हुलाक सेवालाई आधुनिकीकरण नगरी, सबल वा प्रभावकारी नबनाई र सेवा प्रवाहमा लाग्ने समय नघटाई हुलाक लोकप्रिय सेवा प्रदायकका रूपमा रहन सक्दैन ।’
मन्त्री तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, सबल र प्रभावकारी बनाउनुका साथै सेवा प्रवाहको समय घटाउन आवश्यक रहेको उल्लेख गर्दै त्यसो नगरे हुलाक लोकप्रिय सेवा प्रदायकका रूपमा टिक्न नसक्ने धारणा राखे । उनले नागरिकको सोच, समयको महत्व र अपेक्षाअनुसार डेलिभरी प्रणालीलाई पुनः डिजाइन गरी सेवा सञ्चालन गर्न सके सफलता हासिल गर्न सकिने बताए ।
साथै, हुलाकलाई परम्परागत सेवामा मात्र सीमित नराखी समयानुकूल रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।






































