मकवानपुर— मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ घाराखोल्सास्थित कुलेखानी-दक्षिणकाली सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ५५९९ नम्बरको खाली पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक थाहा नगरपालिका-९ चित्लाङ स्थायी घर भई हाल हेटौँडा उपमहानगरपालिका-१ चौकीटोल बस्दै आएका ४५ वर्षीय मुकुन्द झ्यारी मगरलाई उपचारका लागि पाटन अस्पताल, ललितपुर पठाइएको थियो।

उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।