काठमाडौं— रिक्त रहेका विभिन्न विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रियाअन्तर्गत उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण सुरु भएको छ ।
उपकुलपति छनोट तथा सिफारिस समितिले पूर्वनिर्धारित कार्यतालिकाअनुसार पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि अन्तिम सूची (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको अन्तर्वार्ता र प्रस्तुतीकरण प्रक्रिया आइतबारदेखि सञ्चालन गरेको हो ।
समितिका अनुसार छनोट प्रक्रिया समानान्तर रूपमा सञ्चालन भइरहेको छ । प्रत्येक उम्मेदवारले विश्वविद्यालय सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विकास तथा भावी कार्यदिशाबारे आफ्नो योजना प्रस्तुत गरिरहेका छन् ।
छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सम्बन्धित विषयका विज्ञ तथा उपकुलपति छनोट तथा सिफारिस समितिका सदस्यहरू सहभागी रहेको छुट्टाछुट्टै मूल्याङ्कन टोली गठन गरिएको मन्त्रालयले जनाएको छ ।
यसअघि शनिबार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण सम्पन्न भइसकेको छ ।
समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार पोखरा विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ ।
मन्त्रालयका अनुसार आठवटै विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।






































