काठमाडौं । मनसुनजन्य विपद्को जोखिम बढ्दै जाँदा सशस्त्र प्रहरी बलले देशभर ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ। बाढी, पहिरो र डुबानजस्ता विपद्का बेला उद्धार टोली छिटो परिचालन गर्न कठिन मानिएका क्षेत्रको पहिचान गरी यी बेस स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रदेशगत रूपमा कोशीमा ६, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा ४, लुम्बिनीमा ७, कर्णालीमा २ र सुदूरपश्चिममा ८ वटा अस्थायी बेस सञ्चालनमा ल्याइएको छ। यसअघि नै सशस्त्र प्रहरीले धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, म्याग्दी, गोरखा, दाङ, सुर्खेत, जुम्ला, डडेल्धुरा, डोटी र कैलाली गरी १६ जिल्लामा स्थायी विपद् व्यवस्थापन बेस स्थापना गरिसकेको छ।

सशस्त्र प्रहरीका अनुसार यस वर्षको मनसुनलाई लक्षित गर्दै ८ हजार १ सय ८० जना सुरक्षाकर्मीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको छ। साथै असार मसान्तभित्र सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापनसम्बन्धी विशेष तालिम दिने तयारी गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष देशभर करिब ५१ हजार ८ सय ८६ घरधुरीका २ लाख २६ हजार ६ सय ६१ जना मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्ने अनुमान गरेको छ। सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ५१ हजारभन्दा बढी र सबैभन्दा कम कर्णालीमा १३ हजारभन्दा बढी नागरिक प्रभावित हुने आँकलन गरिएको छ।

उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले ८२ वटा र्‍याफ्ट बोट, ५३ वटा मोटर बोट, ४ हजार ७ सय १० जना विशेष तालिमप्राप्त जनशक्ति र १ सय ३४ जना गोताखोरलाई ११ वटा उच्च जोखिमयुक्त क्षेत्रमा तयारी अवस्थामा राखेको छ। यस्तै विपद्को सूचना तत्काल प्राप्त गर्न १ लाख ६८ हजार ९ सय ५६ जना सदस्य रहेको ‘विपद् सूचक सञ्जाल’ निर्माण गरिएको छ। साथै ‘एपिएफ–कम्युनिटी अलर्ट सिस्टम’ सञ्चालनमा ल्याएर विपद्को सूचना प्राप्त हुनेबित्तिकै उद्धार टोली परिचालन गर्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ।

मनसुनको जोखिम बढ्दै जाँदा सशस्त्र प्रहरीले पूर्वतयारीलाई तीव्र बनाएको छ भने सम्भावित विपद्को सामना गर्न देशभर सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ।