धनगढी । कैलालीको गोराङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालयको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक नेपाली सेनाको मृत्यु भएको छ । एकजना छर्रा लागेर घाइते भएका छन् ।
मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा सैनिक हिमाल विक्रम विष्ट गम्भीर घाइते भएका थिए। उपचारका लागि लम्कीस्थित अस्पताल पुर्याइए पनि उनको ज्यान बचाउन नसकिएको प्रहरीले जनाएको छ।
घटनामा सहसेनानी हिमराज जोशी पनि घाइते भएका छन्। उनको हात र शरीरका विभिन्न भागमा छर्रा लागेको छ। प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ।
सामान्य तालिमका रूपमा सुरु भएको फायरिङ अभ्यास एक सैनिकका लागि अन्तिम साबित हुँदा घटनाले सुरक्षा संयन्त्रमै तरंग पैदा गरेको छ।






































