काठमाडौं— आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले तयारीलाई तीव्र बनाएको छ। आयोगका अनुसार पछिल्लो तीन महिनाको अवधिमा देशभर एक लाख ८१ हजार ३६७ जना नयाँ मतदाता थपिएका छन्।

प्रतिनिधिसभा निर्वाचनपछि मतदाता नामावली अद्यावधिकका लागि १८ हजार ६२२ निवेदन परेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेका थिए।

आयोगले हाल मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा केन्द्रहरूको पुनरावलोकन र निर्वाचन व्यवस्थापनसँग सम्बन्धित अन्य तयारीका काम अघि बढाइरहेको जनाएको छ।

यसैबीच, राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा संघीयता सबलीकरण समितिमा निर्वाचन तयारीबारे छलफल भएको थियो। छलफलमा निर्वाचनको मिति कम्तीमा छ महिना अगावै घोषणा गर्नुपर्ने, आवश्यक बजेट समयमै उपलब्ध गराउनुपर्ने, रिक्त जनशक्ति पूर्ति गर्नुपर्ने तथा मतदाता व्यवस्थापन प्रणालीलाई थप आधुनिक बनाउनुपर्ने सुझाव प्रस्तुत गरिएको थियो।

निर्वाचन प्रक्रियालाई विश्वसनीय र प्रभावकारी बनाउन आधुनिक प्रविधिबाट मतपत्र छपाइ तथा गलत सूचना नियन्त्रणका लागि विशेष संयन्त्र विकास गर्नुपर्नेमा समेत जोड दिइएको छ।