भोजपुर। किसानले लगाएको बाली जोगाउन भोजपुरमा अब नयाँ अभियान सुरु हुने भएको छ। बाँदरको बढ्दो आतंक नियन्त्रण गर्न स्थानीय सरकारले बन्ध्याकरण कार्यक्रम ल्याएको छ।
भोजपुरको पौवादुङमा गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।बाँदरका कारण मकै, कोदो, आलुलगायतका बालीमा ठूलो क्षति हुन थालेपछि गाउँपालिकाले यो योजना अघि सारेको हो। स्थानीय सरकारका अनुसार बाँदर मार्ने होइन, उनीहरूको प्रजनन दर नियन्त्रण गरेर दीर्घकालीन समाधान खोज्ने लक्ष्य राखिएको छ।
कार्यक्रमका लागि पहिलो चरणमा पाँच लाख रुपैयाँ बजेट छुट्याइएको छ भने संघीय सरकारसँगको समन्वयमा प्राविधिक अध्ययनसमेत गरिने जनाइएको छ।
बाँदरका कारण खेतीपाती नै संकटमा परिरहेका बेला भोजपुरको यो नयाँ प्रयास कत्तिको सफल हुन्छ, त्यो भने आगामी दिनमा देखिनेछ।






































