चितवन— चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका क्रममा अतिथि व्यवस्थापनलाई लिएर विवाद उत्पन्न भएको छ। कार्यक्रममा निमन्त्रणा गरिएका अतिथिहरूप्रति उचित सम्मान नदेखाइएको भन्दै पार्टी सभापति रवि लामिछाने असन्तुष्ट बनेका छन्।

स्रोतका अनुसार, कार्यक्रममा आमन्त्रित केही अतिथिहरूले अपेक्षित सम्मान र व्यवस्थापन नपाएको गुनासो गरेपछि लामिछानेले यस विषयमा चासो व्यक्त गरेका थिए। घटनाप्रति असन्तुष्टि जनाउँदै उनले सम्बन्धित पक्षसँग स्पष्टीकरणसमेत मागेको बताइएको छ।

महाधिवेशनको व्यवस्थापनमा संलग्न रहेका खगेन्द्र सुनारसँग यस विषयमा लामिछानेको असन्तुष्टि देखिएको बताइए पनि पार्टीले औपचारिक रूपमा कुनै धारणा सार्वजनिक गरेको छैन।

महाधिवेशनको व्यस्त कार्यक्रमबीच उत्पन्न भएको यो विवादले केही समय चर्चा पाए पनि पार्टी नेतृत्वले यसलाई आन्तरिक रूपमा समाधान गर्ने प्रयास गरिरहेको स्रोतले जनाएको छ।

यद्यपि, घटनाबारे सम्बन्धित पक्षबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।