काठमाडौं— कञ्चनपुरमा सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई आइतबार नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपात भएको घटना आइतबार महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा भएको थियो। कार्यक्रममा दुवै पक्षबीच विवाद र भनाभन भएपछि स्थिति तनावपूर्ण बनेको बताइएको छ।
घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। भिडियोमा पत्रकार कुँवरले वडाध्यक्ष देवकोटामाथि हातपात गरेको दृश्य देखिएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।






































