धनुषा— धनुषाको सहिदनगर नगरपालिका–३ यदुकुहाका पूर्ववडाध्यक्ष नागेन्द्रप्रसाद मण्डल एक सातादेखि सम्पर्कविहीन भएका छन्। गत आइतबार औषधी लिन जनकपुर जाने भन्दै घरबाट निस्किएका मण्डल त्यसयता घर नफर्किएको र मोबाइल फोनसमेत सम्पर्कमा नआएको परिवारले जनाएको छ। परिवारका अनुसार उनी केही समयदेखि अनिद्राको समस्याका कारण नियमित औषधी सेवन गर्दै आएका थिए।
मण्डलकी भाउजू पार्वती मण्डलले घरपरिवारमा कुनै विवाद वा मनमुटाब नरहेको बताउँदै उनको सुरक्षित खोजीका लागि सहयोगको अपिल गरेकी छन्। मण्डलले प्रयोग गर्ने मोटरसाइकल र हेल्मेट भने जनकपुरको पुलचोकस्थित घरमा फेला परेको छ। स्थानीयका अनुसार उनी जनकपुर पुगेकै दिन रेलमार्फत भारतको जयनगरतर्फ गएको सूचना प्राप्त भएको छ।
इलाका प्रहरी कार्यालय यदुकुहाका अनुसार बेपत्ता भएकै दिन जयनगर रेलवे स्टेसनको सिसिटिभी फुटेजमा मण्डल देखिएका छन्। उनको मोबाइल फोनको अन्तिम लोकेसन पनि जयनगर क्षेत्रमा देखिएको प्रहरीले जनाएको छ। प्रहरीले सीमावर्ती सुरक्षा निकायसँग समन्वय गर्दै मण्डलको खोजी कार्यलाई तीव्र बनाएको छ।






































