काठमाडौं— कैलालीको धनगढीमा प्रहरीले लागुऔषधविरुद्ध सञ्चालन गरेको विशेष अभियानअन्तर्गत एकै दिन ११ जनालाई पक्राउ गरेको छ। विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा खैरो हेरोइन, चरेस र गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–७ मनेहराबाट खैरो हेरोइनजस्तो देखिने ९२ ग्राम ३०३ मिलिग्राम पदार्थसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवनारायण राना, रामअवतार राना, सुवास राना, जस्मन्त राना लगायतका व्यक्ति तथा एक १८ वर्षीय किशोर रहेका छन्।
त्यसैगरी, वडा नम्बर–३ स्थित फाप्ला क्रिकेट मैदान नजिकबाट २ ग्राम ६३ मिलिग्राम चरेससहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बेनी माधव खड्का र एक किशोर रहेका छन्।
यस्तै, धनगढी–१ को महोत्सव ग्राउन्ड क्षेत्रमा गरिएको अर्को कारबाहीमा ४ ग्राम ३४० मिलिग्राम गाँजा र ११० मिलिग्राम चरेससहित तीन जना पक्राउ परेका छन्। उनीहरू आयुष ओली, अस्पात अन्सारी र प्रज्वल थापा रहेको प्रहरीले जनाएको छ।
यसैबीच, बाजुराको बडिमालिका नगरपालिका–९ अस्पताल लाइन क्षेत्रबाट पनि एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। गौमुल गाउँपालिका–४ का २४ वर्षीय पुरन रोकायाको साथबाट ७ ग्राम ४३० मिलिग्राम चरेस र ४० ग्राम १९० मिलिग्राम गाँजा बरामद गरिएको जनाइएको छ।
प्रहरीले पक्राउ परेका सबैमाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।






































