चितवन— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज बिहान ८ः३० बजेदेखि बन्दसत्र सुरु हुँदैछ। उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा आयोजना हुने बन्दसत्रका लागि दुई वटा ठूला हल तयारी अवस्थामा राखिएका छन् भने अर्को हलमा प्रतिनिधिहरूका लागि खानपानको व्यवस्था गरिएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको प्रारम्भ अनुशासन आयोगको प्रतिवेदन प्रस्तुतिबाट हुनेछ। आयोगका सदस्य रमाकान्त रिमालले प्रतिवेदन पेश गरेपछि त्यसमाथि छलफल गरिने कार्यक्रम छ। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र प्रतिनिधिहरूले त्यसबारे धारणा राख्नेछन्।
बिहान १० बजेदेखि महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। सो प्रतिवेदनमाथि पनि छलफल गरिनेछ। त्यसपछि सहमहामन्त्रीमार्फत पार्टी विधानबारे छलफल तथा अनुमोदनको प्रक्रिया अघि बढाइने कार्यसूची छ।
बिहान ११ः४५ बजे पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। उक्त प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्ने तयारी गरिएको छ। दिउँसो १२ः४५ बजे अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गरिने र आयोजक समितिले आफ्नो सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
खानापछि दिउँसो १ बजेदेखि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी तथा विस्तृत तालिका सार्वजनिक गर्नेछ। बन्दसत्रमा करिब ४ हजार २११ प्रतिनिधि, पर्यवेक्षक तथा स्वयंसेवकको सहभागिता रहने जनाइएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवार मनोनयनका लागि फाराम वितरण दिउँसो १ बजेपछि सुरु हुनेछ। मनोनयन दर्ता प्रक्रिया दिउँसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ भने साँझ ६ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ।
त्यसपछि उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता, जाँचबुझ तथा आवश्यक प्रक्रिया पूरा गरिनेछ। उम्मेदवारी फिर्ता लिने अन्तिम समय राति ९ः१५ बजेसम्म तोकिएको छ भने अन्तिम नामावली राति ११ बजे प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।
महाधिवेशनअन्तर्गत असार ९ गते बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान हुनेछ। यस चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान गरिनेछ। मतगणना सम्पन्न भएपछि नतिजा सार्वजनिक गरिने र त्यसपछि दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाइने कार्यक्रम रहेको छ।
रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्र शनिबार चितवनस्थित गेष्टहाउस चौरमा सम्पन्न भएको थियो।




































