विर्तामोड— नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले आफू रुख चिन्ह र चारतारे झण्डाको महत्व बुझेर नेपाली कांग्रेसमा आबद्ध भएको बताउँदै जीवनभर यही पार्टीमा रहने स्पष्ट धारणा व्यक्त गरेका छन्।

नेपाली कांग्रेस झापाले बिहीबार जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको संस्थागत निर्णयको सम्मान गर्ने र पार्टी निर्णयविपरीत हुने कुनै पनि गतिविधिमा सहभागी नहुने बताए । विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूले छुट्टै भेला गरिरहेको सन्दर्भलाई संकेत गर्दै उहाँले जिम्मेवार पदमा रहेकाले पार्टीको आधिकारिक निर्णय पालना गर्नु आफ्नो दायित्व भएको उल्लेख गरे।

‘म क्षेत्रीय सभापति हुँदा गिरिजाप्रसाद कोइराला सभापति हुनुहुन्थ्यो, त्यसपछि सुशील कोइराला, शेरबहादुर देउवा हुँदै अहिले गगन थापा नेतृत्वमा आउनुभएको छ,’ उनले भने, ‘निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई कानुनी मान्यता दिइसकेको अवस्थामा कानून, नीति, नियम र पार्टी विधानको पालना गर्नु सबै नेता–कार्यकर्ताको कर्तव्य हो।’

सभापति थापाले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व र असन्तुष्ट पक्षबीच संवादमार्फत आन्तरिक विवाद समाधान गर्न आग्रह गर्दै गुटगत गतिविधि नगर्न सबैलाई सुझाव दिए। पार्टीभित्र बृहद् एकता आवश्यक रहेको उल्लेख गर्दै उहाँले असहमतिको विषय छलफलबाट टुंग्याएर कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने धारणा राखे।

उनले कांग्रेसको आधार क्रियाशील सदस्य भएको उल्लेख गर्दै पार्टीलाई डिजिटल प्रविधिमैत्री बनाउने अभियानमा सबैलाई सहभागी हुन आग्रह गरे। क्रियाशील सदस्यता अध्यावधिक नगरे महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाइने भएकाले थपिएको समयभित्र अध्यावधिक गर्न आग्रह गरे।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्लाका अधिकांश वडामा क्रियाशील सदस्यता अध्यावधिक अन्तिम चरणमा पुगेको जानकारी दिँदै छुट भएका सदस्यलाई तोकिएको समयभित्र प्रक्रिया पूरा गर्न आग्रह गरे।

उपसभापति केशवराज पाण्डेले फरक विचार राखेकै आधारमा सामाजिक सञ्जालमार्फत नेता–कार्यकर्तामाथि नकारात्मक टिप्पणी नगर्न आग्रह गर्दै पार्टीभित्रको विवाद वार्ता र छलफलमार्फत समाधान गर्नुपर्नेमा जोड दिए।

सचिव कृष्ण हुमागाईंको सहजीकरणमा सम्पन्न भेलाले प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा यामप्रसाद भण्डारी तथा कमल गाउँ समिति सभापति खगेन भण्डारीकी माता रुकमाया भण्डारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको थियो। कार्यक्रममा एक मिनेट मौनधारण समेत गरिएको थियो।

भेलामा केन्द्रीय सदस्य बसन्त भट्टराई, जिल्ला उपसभापति शेरबहादुर भट्टराई, सचिव नवीन विमली, सहसचिव कमल भण्डारी, कालेन्द्रप्रसाद सिंह राजवंशी, कोषाध्यक्ष जलकुमार गुरुङसहित जिल्ला, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय तथा गाउँ–नगर सभापतिहरूको सहभागिता रहेको थियो।

गगन थापा असार ९ गते झापा आउने

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी असार ९ गते झापा आउने कार्यक्रम तय भएको छ। प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा यामप्रसाद भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्न उनी झापा आउन लागेका हुन्।

विशेष महाधिवेशनपछि पहिलोपटक झापा आउन लागेका सभापति थापाको उपस्थितिमा विर्तामोडस्थित पाथीभरा सिने प्लाजामा बिहान ११ बजेदेखि कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिने नेपाली कांग्रेस झापाले जनाएको छ।

जिल्ला सभापति देउकुमार थेवेले उक्त कार्यक्रमलाई भव्य बनाउन सबै क्षेत्रीय समिति, प्रदेशसभा क्षेत्रीय समिति, गाउँ–नगर, वडा, टोल समिति तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्थालाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन।