पोखरा— एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिको प्रयोग गरिएको वीरताको कथा प्रस्तुत गर्ने चिनियाँ मार्सल आर्ट (वुसिया) चलचित्र नेपालका काठमाडौं र पोखरामा प्रदर्शन गरिएको छ।

एआई प्रविधि र युवा पुस्ताबीच सांस्कृतिक संवाद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनीअन्तर्गत काठमाडौंको त्रिभुवन विश्वविद्यालय र पोखराको पोखरा विश्वविद्यालयमा विशेष चलचित्र प्रदर्शन, अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएका हुन्।

चिनियाँ भाषामा ‘वुसिया’ भन्नाले मार्सल आर्ट, तरबारबाजी र वीरताको माध्यमबाट न्याय, नैतिकता तथा मानवीय मूल्यको रक्षा गर्ने नायकको कथा प्रस्तुत गर्ने चलचित्र विधालाई जनाउँछ। आयोजकका अनुसार कार्यक्रममा नेपाली विद्यार्थी, प्राध्यापक तथा फिल्मकर्मीलाई समकालीन चिनियाँ चलचित्र, विशेषगरी वुसिया संस्कृतिको विकासक्रम र आधुनिक प्रविधिसँग यसको अन्तरसम्बन्धबारे जानकारी गराइएको थियो।

कार्यक्रमका क्रममा चलचित्र र संस्कृतिबारे अन्तरक्रिया, व्याख्यान तथा सांस्कृतिक प्रस्तुति पनि आयोजना गरिएको थियो। सहभागी विद्यार्थी तथा प्राध्यापकहरूले चिनियाँ वुसिया कथामा प्रस्तुत हुने न्याय, साहस र मानवीय मूल्य नेपाली कला तथा संस्कृतिमा पाइने प्रकृति र मानवबीचको सहअस्तित्वको भावनासँग मेल खाने धारणा व्यक्त गरेका थिए।

काठमाडौंमा आयोजित प्रदर्शनीमा ‘लेजेन्ड्स अफ द कन्डोर हिरोजः द ग्यालेन्ट्स’ र ‘ब्लेड्स अफ द गार्डियन्सः विन्ड राइजेस इन द डेजर्ट’ चलचित्र प्रदर्शन गरिएका थिए। सो अवसरमा आयोजित भर्चुअल अन्तरक्रियामा चिनियाँ युवा लेखक वेन जियरले वुसिया साहित्य, यसको नैतिक पक्ष, साहित्यबाट चलचित्रमा हुने रूपान्तरण तथा समकालीन समाजमा वीरताको अवधारणाबारे धारणा राखेका थिए।

यस्तै, बेइजिङ नर्मल विश्वविद्यालयका प्राध्यापक झाओ यानले चिनियाँ मार्सल आर्ट चलचित्रको विकासक्रम र यसको विश्वव्यापी प्रभावबारे व्याख्यान दिएका थिए।

पोखरा विश्वविद्यालयमा आयोजित कार्यक्रममा हिमालय क्षेत्रका मुलुकबीच सांस्कृतिक सम्बन्ध विस्तारका लागि चलचित्र प्रभावकारी माध्यम बन्न सक्ने धारणा व्यक्त गरिएको थियो। अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयका सहप्राध्यापक मा रुइछिङले ‘वुसिया सिनेमादेखि एआई बजारसम्म’ विषयमा छलफल सञ्चालन गरेका थिए भने चिनियाँ एआई कम्पनीका विज्ञ रायनले कृत्रिम बुद्धिमत्ताले चलचित्र निर्माण, सम्पादन, वितरण र बजार व्यवस्थापनमा ल्याइरहेको परिवर्तनबारे प्रस्तुति दिएका थिए।

पोखरामा ‘द मास्टर’ र ‘आई एम ह्वाट आई एम–२’ चलचित्र पनि प्रदर्शन गरिएका थिए। प्रदर्शनपछि निर्देशक स्यु हाओफेङ र सहनिर्माता ली यिलिनले भर्चुअल माध्यमबाट दर्शकसँग अन्तरक्रिया गर्दै चिनियाँ चलचित्रको अन्तर्राष्ट्रिय बजार, मार्सल आर्ट सौन्दर्यशास्त्र तथा एनिमेसनको सम्भावनाबारे आफ्ना विचार राखेका थिए।

यस अवसरमा ‘वुसिया फेयर’, परम्परागत हस्तकला कार्यशाला तथा एआई प्रविधिबाट तयार गरिएको प्रदर्शनीको आधिकारिक गीत ‘द एन्डलेस राइड’ पनि सार्वजनिक गरिएको थियो।

आयोजकका अनुसार दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनीले चिनियाँ वुसिया संस्कृतिलाई नेपाली दर्शकमाझ परिचित गराउनुका साथै नेपाल र चीनका फिल्मकर्मी, विद्यार्थी तथा युवा सर्जकबीच दीर्घकालीन सहकार्य र सांस्कृतिक आदानप्रदानको आधार तयार गरेको छ। साथै चलचित्र, प्रविधि र संस्कृतिलाई एउटै मञ्चमा जोड्ने यस कार्यक्रमले एसियाली चलचित्र उद्योगबीच थप सहकार्यको सम्भावना बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।