काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनकी केन्द्रीय सचिव चम्पा अधिकारीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राप्रपा परित्याग गरेकी छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै उनले राप्रपाले आफ्नो मूल विचार र एजेन्डाबाट विचलित भएको आरोप लगाएकी छन्। पार्टीले उठाउँदै आएको सनातन हिन्दु धर्म, राजसंस्था लगायतका मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउन नेतृत्व असफल भएको उनको निष्कर्ष छ।
‘नेपालका बहुसंख्यक नागरिक सनातन हिन्दु परम्परामा आबद्ध हुँदाहुँदै पनि सडक, सदन र सरकार कुनै पनि तहमा ती मुद्दा सशक्त रूपमा उठाउन सकिएन,’ उनले पत्रमा उल्लेख गर्दै अध्यक्ष लिङ्देनले वैचारिक नेतृत्व दिन नसकेको आरोप लगाएकी छन्।
अधिकारीले आफू विचार र सिद्धान्तका आधारमा राप्रपामा आबद्ध भएको भए पनि पछिल्लो समय पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको, व्यक्तिगत पद र स्वार्थ हाबी भएको तथा मूल एजेन्डा ओझेलमा परेको बताएकी छन्। उनले आलोचनाभन्दा चाप्लुसीलाई प्राथमिकता दिने प्रवृत्तिले पार्टीलाई थप कमजोर बनाएको दाबी पनि गरेकी छन्।
यसअघि पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा अधिकारीमाथि कारबाहीसमेत गरिएको थियो।






































