काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।
सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नयाँ राहदानी छपाइमा भइरहेको ढिलाइबारे छलफलका लागि बोलाइएका अर्याललाई त्यहीँबाट अख्तियारले पक्राउ गरेको हो।
स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले यसअघि सोही विषयमा अख्तियारका प्रमुखसँग समेत छलफल गरेको थियो। त्यसपछि छलफलमा सहभागी हुन पुगेका अर्याललाई आयोगले पक्राउ गरेको जनाएको छ।
हाल राहदानी छपाइका लागि जिम्मेवार पुरानो कम्पनीसँगको सम्झौता अवधि समाप्त भइसकेको छ। नयाँ राहदानी छपाइका लागि जर्मनीका दुई कम्पनी मुलबाउर र भेरिडोसले ठेक्का प्राप्त गरेका छन्।






































