निर्मल पौडेल,काठमाडौं । सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर–१० को भवनमा ई–लाईब्रेरी स्थापना तथा कार्यालय स्तरोन्नतिका लागि बागमती प्रदेश सरकारका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठले १० लाख रुपैयाँ विनियोजन गरेका छन्।
समितिका अध्यक्षसमेत रहेका श्रेष्ठले सामुदायिक सेवा केन्द्रलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त बजेट उपलब्ध गराएका हुन्। प्राप्त रकमबाट ई–लाईब्रेरी स्थापना, आवश्यक फर्निचर व्यवस्थापन तथा कार्यालयको भौतिक संरचना सुधार गरिने जनाइएको छ।
समुदाय र प्रहरीबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने तथा युवापुस्तालाई अध्ययन र सूचना प्रविधिसँग जोड्ने लक्ष्यका साथ ई–लाईब्रेरी स्थापना गर्न लागिएको बताइएको छ।
समितिका पदाधिकारी तथा स्थानीयवासीहरूले सामुदायिक संस्थाको विकास र सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पूर्व मन्त्री श्रेष्ठप्रति आभार व्यक्त गरेका छन्।
यस पहलले बानेश्वर क्षेत्रमा सामुदायिक सेवा, सूचना प्रवाह र अध्ययन संस्कृतिको विकासमा सकारात्मक योगदान पुग्ने आम नागरिकले अपेक्षा गरेका छन् ।






































