काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र पदाधिकारी बन्ने आकांक्षीहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। सहमतिको प्रयास भए पनि आन्तरिक प्रतिस्पर्धा भने झन् तीव्र बन्दै गएको देखिएको छ।
प्रस्तावित विधानअनुसार रास्वपामा १६ सदस्यीय पदाधिकारी संरचना रहनेछ। जसमा सभापतिसहित १० जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ६ जना सभापतिबाट मनोनीत गरिने व्यवस्था छ।
सभापति पदमा रवि लामिछाने निर्विरोध चयन हुने सम्भावना देखिए पनि उपसभापति, महामन्त्री र सह–महामन्त्री पदमा कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ।
उपसभापति पदतर्फ महिला समूहमा सोबिता गौतम, इन्दिरा राना मगरलगायत नेतृहरूको चर्चा छ भने खुला उपसभापतिमा स्वर्णीम वाग्लेबलियो दाबेदार मानिएका छन्। साथै सुनील लम्साल, विराजभक्त श्रेष्ठ र गणेश कार्की पनि दौडमा छन्।
महामन्त्री पदका लागि वर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीसँगै भूपदेव शाह, विपिन आचार्य, दीपक बोहरा, मनिष झा र प्रमोद न्यौपानेको नाम चर्चामा छ।
पार्टीले असार ७–९ गते चितवनमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ, जहाँ करिब तीन हजार प्रतिनिधि र चार हजारभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ।
पार्टी नेतृत्वले महाधिवेशन सहमतिमै टुंग्याउने प्रयास भइरहेको बताए पनि पदाधिकारी चयनमा भने प्रतिस्पर्धा स्पष्ट रूपमा देखिन थालेको छ।






































