काठमाडौं— गोरखामा भएको सामूहिक कुटपिट घटनामा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा गोरखा नगरपालिका–७ रोटेपानीका २४ वर्षीय बोनस शाक्य, धार्चे गाउँपालिका–२ केरौजा घर भई हाल गोरखा नगरपालिका–८ बगैँचामा बस्दै आएका २३ वर्षीय मिङमर गुरुङ, सिरानचोक गाउँपालिका–२ थालाजुङका २९ वर्षीय होमराज गुरुङ तथा धार्चे गाउँपालिका–१ हुलचुकका २४ वर्षीय सन्तोष गुरुङ रहेका छन्।

प्रहरीका अनुसार जेठ २७ गते राति गोरखा नगरपालिका–७ छिपीनीटोलस्थित गोरखा दोहोरी साँझ नजिक सडकमा वारपाक सुलिकोट गाउँपालिका–३ का ३२ वर्षीय सन्तबहादुर गुरुङमाथि लात, मुक्का र ढुंगाले आक्रमण गरिएको थियो। घटनापछि उनी गम्भीर घाइते अवस्थामा भेटिएका थिए।

घाइते गुरुङलाई तत्काल प्रदेश अस्पताल गोरखा लगेर उपचार गरिएको थियो। प्रारम्भिक उपचारपछि घर फर्किएका उनी जेठ २९ गते पुनः अचेत भएपछि अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय गोरखाले अनुसन्धान तीव्र बनाउँदै कुटपिटमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।