गण्डकी। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ३३ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा विकास निर्माण र आर्थिक अनुशासनलाई मुख्य प्राथमिकता दिइएको छ ।

कुल ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेटमध्ये २० अर्बभन्दा बढी रकम पूँजीगत अर्थात् विकास खर्चका लागि छुट्याइएको छ । यो कुल बजेटको ६० प्रतिशतभन्दा बढी हिस्सा हो । चालु खर्चका लागि करिब १२ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश सरकारले संघीय अनुदान, राजस्व बाँडफाँट, रोयल्टी र आन्तरिक राजस्वलाई बजेटको मुख्य स्रोत बनाएको छ । यद्यपि बजेटको स्रोत अपुग हुने देखिएकाले १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने योजना पनि अघि सारिएको छ ।

सरकारले चालु खर्च नियन्त्रण गर्दै विकास खर्च बढाउने दाबी गरेको छ । कर्मचारीको तलब वृद्धि भए पनि प्रशासनिक खर्चलाई सीमित राख्ने र बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्य बजेटमा समेटिएको छ । गण्डकी सरकारले आगामी वर्ष पूर्वाधार विकास, आर्थिक गतिविधि विस्तार र सार्वजनिक खर्चको प्रभावकारिता बढाउने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ ।