बागमती। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सरकारले चालु खर्चभन्दा विकास निर्माणमा बढी रकम छुट्याउँदै पूर्वाधारलाई प्राथमिकतामा राखेको छ ।
कुल बजेटमध्ये करिब ४४ अर्ब रुपैयाँ पूँजीगत अर्थात् विकास खर्चमा विनियोजन गरिएको छ भने करिब २३ अर्ब रुपैयाँ चालु खर्चका लागि छुट्याइएको छ । सबैभन्दा बढी २५ अर्ब ६० करोड रुपैयाँ भौतिक पूर्वाधार विकास मन्त्रालयले पाएको छ ।
सरकारले स्वास्थ्य, खानेपानी, ऊर्जा, सिँचाइ, कृषि र पर्यटन क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेको छ । विपन्न नागरिकका लागि ‘मुख्यमन्त्री विपन्न आवास कार्यक्रम’ अन्तर्गत एक हजार परिवारलाई घर निर्माण गरिदिन २० करोड रुपैयाँ छुट्याइएको छ ।
यस्तै काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनको सम्भाव्यता अध्ययन र भीमफेदी–कुलेखानी सुरुङमार्गको अध्ययनका लागि पनि बजेट व्यवस्था गरिएको छ । प्रदेश सरकारले विकास निर्माण, पूर्वाधार विस्तार र सामाजिक सेवाको सुधारलाई आगामी वर्षको मुख्य लक्ष्य बनाएको जनाएको छ ।




































