धादिङ— धादिङमा २८ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ४३ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका–२ वंशगाउँ निवासी श्रीकृष्ण श्रेष्ठ रहेका छन्। उनलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार पीडित महिलामाथि जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि तत्काल प्रहरी टोली परिचालन गरिएको थियो। अनुसन्धानका क्रममा श्रेष्ठलाई उनकै निवास क्षेत्रबाट पक्राउ गरिएको हो।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका श्रेष्ठविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनासँग सम्बन्धित प्रमाण संकलन तथा अन्य पक्षबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।




































