काठमाडौं— कास्कीको पोखरा महानगरपालिका–२७ डाँडाको नाकमा सोमबार भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको ग१ख ७७६६ नम्बरको टिप्परले विपरीत दिशाबाट आइरहेको बा८०प ३५३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी ५३ वर्षीय विष्णुबहादुर खत्री गम्भीर घाइते भएका थिए।
घटनापछि उनलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
दिउँसो करिब ११ः१५ बजे भएको उक्त दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रहरीले टिप्पर र त्यसका चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–२ साखर निवासी ३३ वर्षीय पदमबहादुर थापालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।




































