जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब ६ अर्ब रुपैयाँले कम हो।
प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले कुल बजेटमध्ये १४ अर्ब ६६ करोड रुपैयाँ चालु खर्च र २६ अर्ब ४७ करोड रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको जानकारी दिए। यसबाट प्रदेश सरकारले प्रशासनिक खर्चभन्दा विकास निर्माणलाई प्राथमिकतामा राखेको देखिन्छ।
बजेट व्यवस्थापनका लागि प्रदेशले ११ अर्ब २२ करोड रुपैयाँ आन्तरिक राजस्व, १२ अर्ब ८३ करोड रुपैयाँ राजस्व बाँडफाँड, १७ अर्ब ५९ करोड रुपैयाँ संघीय अनुदान, ६ अर्ब ८ करोड रुपैयाँ मौज्दात रकम तथा १ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणमार्फत स्रोत जुटाउने लक्ष्य लिएको छ।
संघीय सरकारबाट प्राप्त हुने अनुदानमध्ये वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान गरी कुल १७ अर्ब ५९ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।




































