काठमाडौं— चर्चित सेफ सन्तोष साहलाई ठगी आरोपमा अनुसन्धान गर्न प्रहरीले तीन दिनको म्याद पाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाएको हो।

साहविरुद्ध दर्ता भएको ठगी मुद्दामा अनुसन्धानका लागि अदालतबाट तीन दिनको म्याद स्वीकृत भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साह र उनका दाजु ५८ वर्षीय नारायण साह सुडीलाई शनिबार जनकपुरको रामानन्द चोकबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।

प्रहरीका अनुसार साहविरुद्ध चार लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा जाहेरी दर्ता भएपछि पक्राउ पुर्जी जारी गरिएको थियो। सोही मुद्दामा अहिले अनुसन्धान भइरहेको छ।

यसअघि पनि साह बैंकिङ कसुरसम्बन्धी विवादमा तानिएका थिए। आर्जव होल्डिङ प्रालिलाई दिएको २५ लाख रुपैयाँको चेक नसाटिएपछि दायर मुद्दामा अदालतले बिगो भराउने र एक महिनाको कैद सजाय हुने फैसला गरिसकेको छ।

नक्सालस्थित शिला रेस्टुरेन्ट खरिदका क्रममा दिइएको चेक बाउन्स भएपछि उक्त विवाद उत्पन्न भएको प्रहरीको भनाइ छ।

सिरहाको कर्जन्हा नगरपालिका(९ स्थायी घर भएका ४० वर्षीय साहले ‘मिथिला थाली’ नामबाट रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। काठमाडौँ, ललितपुर र जनकपुरमा उनका रेस्टुरेन्ट रहेका छन्।

बेलायतको चर्चित पाककला प्रतिस्पर्धामा उत्कृष्ट तीनभित्र पर्न सफल भएपछि साह चर्चामा आएका थिए। त्यसपछि नेपाल फर्केर उनले रेस्टुरेन्ट व्यवसाय विस्तार गरेका थिए।

हाल भने उनीमाथि दर्ता भएका ठगी तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा कानूनी प्रक्रिया अगाडि बढिरहेको छ।