रुकुम पश्चिम— बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको छ।
प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीका ४० वर्षीय सुरेश विकलाई आइतबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९, राडीबजार क्षेत्रबाट पक्राउ गरिएको हो।
बैंकिङ कसुर सम्बन्धी अनुसन्धानका क्रममा फरार रहेका विकलाई खोजतलासका क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिए।
प्रहरीका अनुसार उक्त मुद्दामा विकविरुद्ध ९ लाख ९५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ। उनीविरुद्ध देवबहादुर खत्रीले जाहेरी दिएका थिए।
पक्राउ परेका विकमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




































