काठमाडौं— काठमाडौंमा 'फार्म हाउस'को आवरणमा लागुऔषध ट्रामाडोलको अवैध कारोबार गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले विशेष अपरेसन सञ्चालन गर्दै ट्रामाडोलसहित १३ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये विभिन्न फार्म हाउसलाई प्रयोग गरी भारतबाट लागुऔषध ल्याएर काठमाडौंका विभिन्न स्थानमा कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

एसपी दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेकाहरू टोखा र चन्द्रागिरि क्षेत्रबाट नियन्त्रणमा लिइएका हुन्। उनीहरूले फार्म हाउसको नाममा लुकाइछिपाइ कारोबार गर्दै आएको आशंका गरिएको छ।

प्रहरीले उनीहरूबाट करिब २ लाख ९ हजार ट्रामाडोल ट्याब्लेट, २ हजार ४ सय अन्य प्रकारका लागुऔषध, ७ लाख ८७ हजार ५ सय रुपैयाँ नगद र २८ थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।