काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले विभिन्न राजनीतिक आन्दोलनमा सहभागी युवामाथि लगाइएका मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन्।
सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनआन्दोलनमा सहभागी युवाहरूलाई कानुनी सास्ती दिने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
सांसद खतिवडाले जनआन्दोलनका शहीद र घाइतेहरूको त्याग र बलिदानकै जगमा वर्तमान सरकार बनेको उल्लेख गर्दै अहिले तिनै आन्दोलनमा सहभागी युवाहरूलाई पक्राउ पुर्जी जारी गर्ने र विभिन्न मुद्दामा फसाउने काम भइरहेको बताइन्।
‘सरकारले झुट्टा मुद्दा खारेज गर्ने प्रतिबद्धता व्यक्त गरे पनि अहिलेसम्म त्यसको कार्यान्वयन किन हुन सकेन ?’ उनले प्रश्न गरिन्, ‘युवाहरूको त्याग, संघर्ष र समर्थनविना यो सरकार अघि बढ्न सक्दैन। त्यसैले जनआन्दोलनका क्रममा लगाइएका झुट्टा मुद्दाहरू यथाशीघ्र खारेज गरियोस्।’
उनले काभ्रेको पनौती क्षेत्रमा नयाँ प्रहरी उपरीक्षक (एसपी) को आगमनपछि प्रहरीले अनावश्यक धरपकड बढाएको दाबीसमेत गरिन्। जनआन्दोलनमा सहभागी भएकै आधारमा युवाहरूलाई लक्षित गरी घरघरमा पुगेर त्रास सिर्जना गर्ने काम भइरहेको भन्दै उनले यस्तो गतिविधि रोक्न सरकारसँग माग गरिन्।
राजनीतिक परिवर्तनमा योगदान पुर्याएका युवाहरूलाई न्याय दिनुको सट्टा प्रहरी प्रशासनमार्फत त्रसित बनाउने काम भइरहेको उल्लेख गर्दै सांसद खतिवडाले नागरिकलाई शान्तिपूर्ण वातावरणमा बस्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरिन्।




































