विराटनगर— नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त आयोजनामा एकदिने प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ सम्पन्न भएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित गोष्ठीको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी जहाँ उपस्थित हुन्छ, त्यहाँ सरकारको उपस्थिति महसुस हुने भएकाले आम नागरिकको विश्वास कायम राख्न निष्पक्ष र त्रुटिरहित अनुसन्धान आवश्यक रहेको बताए। अपराध अनुसन्धानका लागि आवश्यक स्रोत–साधन उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले प्रविधिको अधिकतम प्रयोग गरी कानुनअनुसार अनुसन्धान गर्न आग्रह गरे।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले विज्ञान र सूचना प्रविधिको विकाससँगै अपराधका स्वरूप परिवर्तन हुँदै गएको र त्यसले अनुसन्धानमा नयाँ चुनौती थपिएको बताए। अनुसन्धान प्रक्रियामा देखिएका समस्या समाधान तथा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउन यस्ता गोष्ठी उपयोगी हुने उनको धारणा थियो।

कार्यक्रमका विशिष्ट अतिथि मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गा बहादुर भुषालले न्याय सम्पादनको आधार नै गुणस्तरीय अनुसन्धान भएकाले प्रमाणमुखी, पारदर्शी र कानुनसम्मत अनुसन्धानमा जोड दिनुपर्ने बताए।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले अनुसन्धानकर्ताको क्षमता अभिवृद्धि र वैज्ञानिक अनुसन्धान प्रणालीको विकासका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने बताउँदै गोष्ठीबाट प्राप्त निष्कर्षलाई कार्ययोजनामार्फत कार्यान्वयन गरिने जानकारी दिए। साथै अन्तरजिल्ला समन्वयलाई प्रभावकारी बनाउँदै लक्ष्यअनुसार कार्यसम्पादन गर्न मातहतका प्रहरी प्रमुखलाई निर्देशन दिए।

अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले विधिको शासन कायम भए मात्र अपराधमुक्त समाज निर्माण सम्भव हुने उल्लेख गर्दै शान्ति सुरक्षाका लागि अन्तरनिकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए। उनले अपराध अनुसन्धानसम्बन्धी कानुनी व्यवस्था तथा विद्यमान चुनौतीबारे पनि प्रकाश पारे।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले निष्पक्ष अनुसन्धानमार्फत पीडितलाई न्याय दिलाउन प्रहरीको इच्छाशक्ति अझ बलियो हुनुपर्ने धारणा राखे। जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता लेखनाथ ढकालले अनुसन्धानमा हुने त्रुटि, नयाँ कानुनी प्रावधान र सुधारका विषयमा प्रस्तुतीकरण गरे। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले पनि कानुनअनुसार निष्पक्ष अनुसन्धानको आवश्यकता औंल्याए।

गोष्ठीमा कोशी प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले जिल्लागत अपराध अनुसन्धानको अवस्था, सफल अनुसन्धान, चुनौती तथा अपेक्षाबारे प्रस्तुतीकरण गरेका थिए। त्यसैगरी प्रदेश प्रहरी कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र फुँयालले अपराध विश्लेषण तथा अनुगमनका क्रममा देखिएका कमजोरीबारे प्रस्तुति दिए भने प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले कोशी प्रदेशको समग्र अपराध अवस्था र अनुसन्धानमा प्रदेश प्रहरी कार्यालयको भूमिकाबारे जानकारी गराए।

कार्यक्रममा अनुसन्धानका चुनौती, सुधारका पक्ष, प्राविधिक स्रोत–साधन व्यवस्थापन, प्रविधिसँगै बढ्दो अपराध, अन्तरनिकाय समन्वय तथा सहकार्यका विषयमा व्यापक छलफल गरिएको थियो। साथै जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयका प्रमुख अनुसन्धानकर्ताहरूले उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गर्दै अनुसन्धानलाई वैज्ञानिक, प्रमाणमुखी र पीडितमैत्री बनाउने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए।

गोष्ठीमा कोशी प्रदेश प्रहरी तालिम केन्द्र, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, विशेष सुरक्षा गण, प्रदेश प्रहरी गण लगायतका प्रहरी अधिकृत तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

अपराध अनुसन्धानमा देखिएका चुनौतीहरूको समाधान, आधुनिक प्रविधिको प्रयोग, उपलब्ध जनशक्ति तथा स्रोत–साधनको प्रभावकारी परिचालन र अन्तरकार्यालय समन्वयलाई सुदृढ बनाउने उद्देश्यसहित गोष्ठी आयोजना गरिएको आयोजकले जनाएको छ।