काठमाडौं— नेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरूको यात्रा सुरक्षित, सहज र व्यवस्थित बनाउन नयाँ निर्देशिका सार्वजनिक गरेको छ।

बोर्डका अनुसार पछिल्ला वर्षहरूमा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको संख्या बढ्दै गएपछि उनीहरूको आवागमन व्यवस्थापनलाई प्रभावकारी बनाउन उक्त निर्देशिका जारी गरिएको हो।

निर्देशिकाअनुसार नेपाल प्रवेश गर्ने सबै पर्यटकले भन्सार विभागको अनलाइन वा सम्बन्धित नाकास्थित भौतिक प्रणालीमार्फत अनिवार्य रूपमा प्रवेश अनुमति लिनुपर्नेछ। साथै, सीमा नाकामा सवारी साधनका यात्रुको विवरण, उमेर, लिङ्ग, नेपाल बसाइको अवधि तथा भ्रमण गर्ने गन्तव्यसम्बन्धी जानकारी भन्सार अधिकारीलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

भारतीय नागरिकका लागि भिसा आवश्यक नपर्ने भए पनि नेपाल प्रवेश गर्दा वैध राहदानी वा मतदाता परिचयपत्र अनिवार्य रूपमा साथमा हुनुपर्ने बोर्डले जनाएको छ। यात्रु तथा सवारी साधनको नियमित सुरक्षा जाँचमा सहयोग गर्न पनि सबैलाई आग्रह गरिएको छ।