विराटनगर— भारतको बिहार राज्यस्थित पटनामा भएको आक्रमण तथा तोडफोड घटनाका आरोपी प्रिन्स कुमार यादव विराटनगरको एक होटलमा मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार विराटनगर–१० स्थित शुभ होटलमा बस्दै आएका यादव आइतबार राति मृत भेटिएका हुन्। उनले होटलमा बिरामीको उपचारका लागि नेपाल आएको विवरण दर्ता गराएका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यादवसँगै होटलमा बसेका अन्य चार भारतीय नागरिकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रिन्स कुमार यादव बिहारको चर्चित खान सर काण्डसँग सम्बन्धित मुद्दाका आरोपी रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। गत जुन २ मा पटनास्थित ज्ञान बिन्दु कोचिङ र खान ग्लोबल स्टडिजबीच भएको विवादपछि खान सरको कोचिङ सेन्टरमा तोडफोड, झडप र गोली चलेको थियो। उक्त घटनाको नेतृत्व यादवले गरेको आरोपमा भारतीय प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरी खोजी गरिरहेको थियो।

मोरङ प्रहरी प्रमुख एसपी कोवित कट्टुवालका अनुसार मुद्दा दर्तापछि यादव नेपाल आएर विराटनगर बसपार्क क्षेत्र आसपास बस्दै आएका थिए। उनी होटलमै मृत फेला परेपछि घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यादव ज्ञान विन्दु एकेडेमीका सञ्चालक रौशन आनन्दका भाइसमेत रहेको बताइएको छ। उनी संस्थाको प्रशासनिक तथा दैनिक व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएका थिए। प्रहरीका अनुसार परिवारलाई खबर गरी शव जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ।