काठमाडौं— परराष्ट्रमन्त्री शिशिर खनाल आइतबारदेखि औपचारिक चीन भ्रमणमा निस्किएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको यस भ्रमणका क्रममा उनले बेइजिङमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा मन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा सहकार्यका क्षेत्र विस्तारबारे विस्तृत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। वाङ यी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को केन्द्रीय राजनीतिक ब्युरोका सदस्यसमेत हुन्।

मन्त्री खनालको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उत्तर–पूर्वी महाशाखा प्रमुख भृगु ढुंगाना, बेइजिङस्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाललगायतका अधिकारी सहभागी छन्। उनी असार ३ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।

चीन भ्रमणका क्रममा मन्त्री खनालले त्यहाँका उच्च सरकारी पदाधिकारीसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने नेपालमा वैदेशिक लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रममा पनि सहभागिता जनाउनेछन्। सो अवसरमा उनले चिनियाँ उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।

यसैगरी, नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने तथा चीनमा रहेका नेपाली समुदायसँग भेटघाट र छलफल गर्ने कार्यक्रम पनि रहेको मन्त्रालयले जानकारी दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन भएपछि मन्त्री खनालको यो तेस्रो विदेश भ्रमण हो। यसअघि उनले जेठ २२ गते तीनदिने भारत भ्रमण गरी भारतीय विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा सीमा, व्यापार, पूर्वाधार, ऊर्जा, सम्पर्क सञ्जाल तथा रासायनिक मल आपूर्तिलगायत विषयमा छलफल भएको थियो। त्यसअघि उनले मोरिससको पनि भ्रमण गरेका थिए।