काठमाडौं— बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब तीन वर्षपछि जिल्ला अदालत काठमाडौंमा सुनुवाइ प्रक्रिया अघि बढेको छ। पूर्वमन्त्री, बहालवाला सचिव तथा उच्चपदस्थ व्यक्तिहरू प्रतिवादी रहेको मुद्दाको प्रारम्भिक सुनुवाइ बुधबार न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुरु भएको हो।

सरकारी वकिल कार्यालयले विभिन्न समयमा दायर गरेका तीनवटा मुद्दालाई एकीकृत गर्दै अदालतले सुनुवाइ अगाडि बढाएको छ। तर समय अभावका कारण सरकारी पक्षको बहस सुरु हुन नसकेपछि मुद्दालाई बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण तथा पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायतलाई प्रतिवादी बनाइएको छ। उनीहरूमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाई करोडौँ रुपैयाँ ठगी गरेको अभियोग छ।

यद्यपि अनुसन्धानका क्रममा नाम जोडिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नैनकला थापा, पूर्वगृहसचिव प्रेमकुमार राई, महेश्वर न्यौपानेसहित आठ जनामाथि थप अनुसन्धान गर्ने भनिए पनि हालसम्म कुनै ठोस कारबाही अघि बढ्न सकेको छैन।

त्यस्तै, कांग्रेस नेतृ आरजु देउवा र मञ्जु खाणलाई रकम बुझाइएको दाबी गरिएको अडियो सार्वजनिक भए पनि त्यससम्बन्धी अनुसन्धानले पनि निष्कर्ष पाउन सकेको छैन।

बेचन झाको पक्राउपछि यो प्रकरणले नयाँ राजनीतिक मोड लिएको थियो। त्यसपछि आरजु देउवालगायतमाथि अनुसन्धान अघि बढ्ने संकेत देखिए पनि केही समयमै सत्ता समीकरण परिवर्तन भयो। प्रचण्ड नेतृत्वको सरकार विस्थापित भई एमाले–कांग्रेस गठबन्धनको नयाँ सरकार बनेपछि यस प्रकरणको थप अनुसन्धान सुस्त बनेको भन्दै आलोचना भइरहेको छ।