विराटनगर— कोशी प्रदेशस्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल (बीएमसीटीएच) र मनमोहन प्राविधिक विश्वविद्यालय (एमटीयू) बीच शिक्षा, अनुसन्धान, तालिम तथा व्यावसायिक विकासका अवसर विस्तार गर्ने उद्देश्यले सहकार्य गर्ने सम्झौता भएको छ।

मोरङको बुढीगंगा गाउँपालिका–२ टंकीस्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल र बुढीगंगा–४ हात्तीमुढामा रहेको कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयबीच बुधबार समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर गरिएको हो। विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार डा. किशोर अधिकारी र अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेनिस कार्की नेतृत्वको टोलीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार विद्यार्थी, प्राध्यापक तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनशक्तिबीच शैक्षिक आदान–प्रदान गरिनेछ। साथै व्यवहारिक सिकाइ, संयुक्त अनुसन्धान, तालिम तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन गरिनेछन्।

दुवै संस्थाले यस सहकार्यले शैक्षिक अध्ययन र व्यवहारिक अभ्यासबीचको दूरी घटाउँदै विद्यार्थीलाई वास्तविक कार्यक्षेत्रसँग जोड्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। साथै स्वास्थ्य क्षेत्रका चुनौतीहरूको समाधान खोज्न संयुक्त अनुसन्धान तथा नवप्रवर्तनात्मक कार्यक्रम सञ्चालनका लागि समेत मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ।

स्वास्थ्य विज्ञान शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धितर्फ महत्वपूर्ण कदमका रूपमा रहेको यस सहकार्यबाट गुणस्तरीय शिक्षा, दक्ष जनशक्ति उत्पादन तथा स्वास्थ्य सेवाको उन्नयनमा थप योगदान पुग्ने दुवै संस्थाको विश्वास छ।

एमटीयूका रजिष्ट्रार डा। किशोर अधिकारीले दुवै संस्थाबीचको सहकार्यले स्वास्थ्य विज्ञान शिक्षामा शैक्षिक–औद्योगिक सम्बन्धलाई थप मजबुत बनाउने, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा जनशक्ति विकासमा सहयोग पुग्ने बताए।

त्यस्तै, बीएमसीटीएचका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले यस सहकार्यले दुवै संस्थाको संस्थागत विकाससँगै गुणस्तरीय स्वास्थ्य सेवा र प्राविधिक शिक्षाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

निजी क्षेत्रबाट सञ्चालित विराट शिक्षण अस्पतालले कोशी प्रदेशमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यसैगरी, कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहन प्राविधिक विश्वविद्यालयले इन्जिनियरिङ, कानुन, फार्मेसी तथा अस्पताल व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।