काठमाडौं । बजेट खर्च कमजोर हुँदा कोशी प्रदेश सरकारको ढुकुटीमा अर्बौं रुपैयाँ थन्किएको छ। यही मौज्दात र संघीय अनुदानमा भएको वृद्धिको आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि करिब ३८ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपका अनुसार चालू आर्थिक वर्षमा अपेक्षाअनुसार बजेट खर्च हुन नसकेकाले प्रदेशको संचित कोषमा ठूलो रकम मौज्दात रहेको छ। संघीय सरकारबाट प्राप्त हुने अनुदान रकम बढेकाले आगामी बजेटको आकार पनि विस्तार गर्न लागिएको उनले बताए।
प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधि क्षेत्रलाई केन्द्रमा राखेर बजेट निर्माण गरिरहेको जनाएको छ। साथै संघीय बजेटले शिक्षा–स्वास्थ्य सेवा र विद्युत् उपभोगमा थप करको व्यवस्था गरेपछि त्यसबाट प्रभावित हुन सक्ने निम्न तथा मध्यम वर्गीय परिवारलाई राहत दिने कार्यक्रमसमेत समेट्ने तयारी भइरहेको छ।
प्रदेश सरकारको तथ्यांकअनुसार वैशाख मसान्तसम्म संचित कोषमा १२ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी नगद मौज्दात रहेको छ। चालू आर्थिक वर्षमा करिब ७० प्रतिशत मात्रै बजेट खर्च हुने अनुमान गरिएको छ, जबकि गत वर्ष खर्चदर ८० प्रतिशत हाराहारीमा पुगेको थियो।
हालको आर्थिक वर्षमा कोशी प्रदेशको बजेट ३६ अर्ब २ करोड रुपैयाँ रहेको छ। आगामी वर्ष भने त्यसमा करिब २ अर्ब रुपैयाँ थपेर बजेटको आकार बढाउने सरकारको तयारी छ।






































