बैतडी— बैतडीको दोगडाकेदार गाउँपालिका–३ कुकुडेपानीस्थित भित्री कच्ची सडकमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
सोमबार पुर्चौडीबाट सिल्लेगडातर्फ जाँदै गरेको म १ ज १३९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिप चालक पुर्चौडी नगरपालिका–९ तल्लादेही निवासी ३० वर्षीय कर्णबहादुर बोहरा र पुर्चौडी नगरपालिका–८ की २४ वर्षीया बागमती साउद घाइते भएका छन्। घाइतेमध्ये चालक बोहराको अवस्था गम्भीर रहेको बताइएको छ।
दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





































