काठमाडौं— संसद्को जारी गतिरोध अन्त्य गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पहलमा बसेको सर्वदलीय बैठक कुनै ठोस निष्कर्षमा पुग्न नसकेपछि प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूको अवरोध सोमबार पनि जारी रह्यो।
प्रतिनिधि सभा बैठक प्रारम्भ भएपछि सभामुख डीपी अर्यालले नियमित कार्यसूची सञ्चालनका लागि प्रतिपक्षी सांसदहरूलाई सहयोग गर्न आग्रह गरेका थिए। तर प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर असन्तुष्ट प्रतिपक्षी सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाउँदै बैठक अवरुद्ध पारे।
यसैबीच, सिंहदरबारमा आयोजित सर्वदलीय बैठक बहिष्कार गरेका श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ भने संसद् बैठकमा उपस्थित भए। उनले बैठकमा आफ्नो दलको तर्फबाट कुनै प्रतिनिधि नपठाए पनि सदनभित्र प्रतिपक्षी दलहरूसँगै विरोधमा उभिएका थिए।
सभामुखले कार्यसूची अगाडि बढाउने प्रयास गर्दा साम्पाङ पनि अन्य प्रतिपक्षी सांसदहरूसँगै उठेर अवरोधमा सहभागी बने।
संसदीय गतिरोध अन्त्यका लागि रास्वपा सभापति रवि लामिछानेले परराष्ट्र मन्त्रीमार्फत सदनमै स्पष्टिकरण गराउने प्रस्ताव अघि सारेका थिए। तर प्रतिपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गरेपछि तत्काल सहमति जुट्ने सम्भावना कमजोर देखिएको छ।





































