काठमाडौं— बाँकेको कोहलपुर नगरपालिकाले बढ्दो गर्मी र तातो हावाको प्रभावलाई ध्यानमा राख्दै नगरभित्रका सबै विद्यालयमा तीन दिनका लागि बिदा घोषणा गरेको छ।

नगरपालिकाका अनुसार उच्च तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जेठ २५ गतेदेखि २७ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नियमित पठनपाठन स्थगित गरिएको हो।

पछिल्ला दिनहरूमा बाँकेसहित तराईका विभिन्न जिल्लामा तापक्रम उल्लेखनीय रूपमा बढ्दै गएको छ। यस अवस्थाले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।