काठमाडौं— नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा डिकबहादुर खत्री अध्यक्षमा निर्वाचित भएका छन्। एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेकपा निकट गणतान्त्रिक मञ्च तथा कांग्रेस निकट केही व्यवसायीहरूको समर्थन रहेको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका खत्रीले उल्लेख्य मतान्तरसहित जित हासिल गरेका हुन्।

निर्वाचनको अन्तिम नतिजाअनुसार खत्रीले ३४७ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी मेघनाथ भुर्तेलले १९२ मत तथा स्वतन्त्र व्यवसायी समूहका हरिबहादुर पाण्डे क्षेत्रीले १७० मत प्राप्त गरे।

निर्वाचन परिणामले संयुक्त प्यानलको बलियो उपस्थिति देखाएको छ। प्रथम उपाध्यक्षमा महेश बस्नेत, द्वितीय उपाध्यक्षमा अनिल बोगटी र तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल निर्वाचित भए। त्यस्तै महासचिवमा हरि डाँगी, सचिवमा केदारनाथ अधिकारी तथा कोषाध्यक्षमा धनमाया सिन्जाली विजयी भएका छन्।

१७ सदस्यीय कार्यसमितिको अधिकांश पदमा पनि यही प्यानलले सफलता हासिल गरेको छ। सात पदाधिकारीमध्ये छ पद र १० कार्यसमिति सदस्यमध्ये आठ सदस्य उक्त समूहबाट निर्वाचित भएका छन्।

यद्यपि लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले केही पदमा आफ्नो उपस्थिति कायम राख्न सफल भएको छ। उक्त समूहबाट तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल तथा सदस्यहरू गीता राउत र दीक्षा दाहाल निर्वाचित भएका छन्।

निर्वाचनपछि नवनिर्वाचित अध्यक्ष खत्रीले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने, व्यवसायीका समस्या समाधान गर्ने तथा उनीहरूको हकहित संरक्षणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ नेतृत्वको आगमनसँगै वैदेशिक रोजगार क्षेत्रका नीति सुधार र साझा सरोकारका विषयमा संघको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।