कपिलवस्तु— कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ का पूर्व सांसद तथा नेकपा (एमाले) का नेता मंगलप्रसाद गुप्ताको आइतबार बिहान निधन भएको छ।
हृदयघात भएपछि उपचारका लागि भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा भर्ना गरिएका गुप्ताको उपचारकै क्रममा निधन भएको एमाले कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनालले बताएका छन्।
८० वर्षभन्दा बढी उमेरका गुप्ता लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न थिए। उनले २०३९ सालदेखि संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न थालेका थिए भने एमालेको तर्फबाट नौ पटक उम्मेदवार बनेका थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट विजयी हुँदै सांसद बनेका थिए।
परिवारका अनुसार उनको पार्थिव शरीर मंगलबार कृष्णनगर ल्याइनेछ भने बुधबार अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।
स्वर्गीय गुप्ताका परिवारमा श्रीमती र चार छोरा रहेका छन्।





































